सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ९ मंसिर ।

महिलाहरुको व्यक्तित्व विकास र आर्थिक समृद्धिमा बचत सहकारीको महत्वपूर्ण भूमिका रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जोड दिनुभएको छ ।

ज्ञानपुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुगौलीको शनिबार सम्पन्न तेस्रो साधारण सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । सानो रकमबाट शुरु गरेको सहकारीले अहिले स्थानीय महिलाहरुलाई संगठित बनाएको र स्थानीय तहमै लाखौंको कारोबार गरेकोमा अझ अगाडि बढ्न उहाँले शुभकामना दिनुभयो । सहकारीमा आबद्ध भएका महिलाहरुको सशक्तिकरणमा परिवर्तन आएको समेत उहाँले औल्याउनुभयो ।

कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष थापाले सहकारीको नीतिगत व्यवस्थामा सुधार गरी सकारात्मक परिवर्तनमा लाग्न समेत जिकिर गर्नुभयो । उहाँले सहकारीमा आबद्ध महिलाहरु अब सदस्यता विस्तार, आर्थिक पारदर्शिता र दीर्घकालिन योजनाका साथ सहकारीलाई अगाडि बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय महिलाहरुको सक्रियतामा दर्ता भएको बचत सहकारीलाई सुशासन, व्यवस्थापन र पारदर्शितालाई विशेष सुधार गर्दै अगाडि बढ्नुपर्ने गाउँपालिका उपाध्यक्ष लक्ष्मी थारुले बताउनुभयो । उहाँले पछाडि परेका महिलाहरुलाई संगठित रुपमा अगाडि बढाउन सहकारीले खेलेको भूमिका प्रसंशनीय रहेको औल्याउँदै सहकारीको विकास र प्रवर्धनमा आफूले सहयोग पु¥याउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । यसैगरी कार्यक्रममा सहकारी प्रशिक्षक विष्णु प्रसाद चौबेले सहकारीको दीर्घकालिन विकास र महिलाहरुको आर्थिक समृद्धिका लागि आयआर्जनका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारीकी अध्यक्ष प्रमिला पौडेलले वार्षिक प्रतिबेदन र कोषाध्यक्ष मनकुमारी खन्गाले १० लाख ९६ हजार ८सय १४ रुपैयाँ बराबरको वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । मनकुमारी खन्गा र यमकुमारी राईद्वारा गीतमार्फत स्वागत गरिएको सहकारीको साधारणसभा राधिका सापकोटाका संचालनमा सम्पन्न भएको थियो ।

वि.सं. २०७१ सालमा स्थानीय २५ जना महिलाहरुको सक्रियतामा स्थापना भएको सहकारीमा हाल ३१५ महिलाहरुको आबद्ध छन् । साविक गुगौली गाविसका महिलाहरुलाई संगठित गरी आयआर्जनमा सुधार ल्याउन शुरुवात गरिएको सहकारीमा दलित, जनजाति, अन्य महिलाहरुको ११ वटा समूह आबद्ध रहेको बताइएको छ ।

 

 

About Author