पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे ।

Gyanendra-Shah
File Photo: Former King Gyanendra Shah  Photo: THT

एउटा जिम्मेवार नागरिकको हैसियतले आफूलाई मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफूले नेतृत्व लिने समय आएको पनि दाबी गरे ।‘अहिले दुबो, गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने,’त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ ।’

आफ्नो यो भनाइ पछि फेरि पूर्वराजा सक्रिय हुन खोज्यो भनिने उल्लेख गर्दै उनले अघि भने, ’अब फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सक्रिय हुने वा नहुने कुरा होइन, तर यो देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ ।’ उनले आजको दिन परिवारसँग बस्ने दिन भएको उल्लेख गर्दै नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे ।

-नयाँ पत्रिका

About Author