म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा १६ वर्षअघि खुलेको सडक अहिले स्तरोन्नति भएपछि स्थानीयवासी खुसी भएका छन्।
मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकअन्तर्गत पखेर–आलडाँडा खण्डमा स्तरोन्नति गरिएको हो।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत करिब ३ किलोमिटर ५०० मिटर सडकमा ग्राभेल र केही भागमा ढलान गरिएको छ। यो काम आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको थियो।

यो योजनाको ठेक्का करिब रु ५ करोड ८६ लाखमा भएको थियो र निर्धारित समयमै काम सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले जानकारी दिनुभयो। तर बजेट अभावका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन भने समस्या भएको उहाँको भनाइ छ।

यो सडक २०६६ सालमा पहिलोपटक खुलेको थियो। अहिले यसलाई ७ मिटर फराकिलो बनाइएको छ भने नाली, टेवा पर्खाल निर्माण गरिएको छ। साथै घुम्ती र उकालो भागमा करिब ५५० मिटर सडक ढलान गरिएको छ।

स्थानीय मिलन रोकाका अनुसार पहिले साँघुरो र जोखिमपूर्ण सडकमा सवारी साधन चलाउन गाह्रो थियो। अहिले भने ठूलो ट्रक समेत गाउँसम्म पुग्न थालेका छन्।
पहिले बरङ्जाबाट बेनी पुग्न करिब १ घण्टा लाग्थ्यो भने अहिले ३० मिनेटमै पुग्न सकिने भएको छ।

सडक सुधार भएपछि दूध, सुन्तला, तरकारीजस्ता कृषि उत्पादन बजारसम्म लैजान पनि सहज भएको छ। पहिले घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हटेको छ।

स्थानीयवासीले सडक स्तरोन्नतिलाई सकारात्मक रूपमा लिएका छन्। तर पखेरदेखि झाँक्रीपानीसम्मको बाँकी ११ किलोमिटर सडक पनि स्तरोन्नति गर्नुपर्ने माग गरिएको छ।

यो सडक मङ्गला गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाका लागि महत्वपूर्ण मानिन्छ।

चालु आर्थिक वर्षमा यस योजनाका लागि रु १ करोड ३९ लाख बजेट छुट्याइएको छ। निर्माण व्यवसायीका अनुसार अझै करिब रु ८० लाख भुक्तानी बाँकी रहेको छ, जसका कारण मजदुर र सामग्री आपूर्तिमा समस्या भएको गुनासो गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय