मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ लाई पक्राउ गरेपछि उनीमाथि कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी अझै निष्कर्षमा पुगेको छैन।
सोमबार राति वीरगञ्जस्थित एक होटलबाट पक्राउ परेका प्रसाईँमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सामान्यतया पक्राउ परेको २४ घण्टाभित्र अदालतबाट म्याद थप गरी हिरासतमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि प्रहरीले हालसम्म स्पष्ट आरोप तय गरिसकेको छैन।



जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईँका गतिविधि, अभिव्यक्ति र सामाजिक सञ्जालमा प्रसारित सामग्रीमाथि अनुसन्धान भइरहेको छ। उनका अनुसार पछिल्लो समय सार्वजनिक भएका भिडिओ, अभिव्यक्ति तथा डिजिटल सामग्रीको प्राविधिक परीक्षणसमेत सुरु गरिएको छ।
प्रहरी स्रोतका अनुसार प्रसाईँमाथि साइबर अपराध तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा आकर्षित हुन सक्ने सम्भावना देखिएको छ। यद्यपि, कुन कानुनी प्रावधान अन्तर्गत मुद्दा दर्ता गर्ने भन्नेबारे अन्तिम निर्णय भइसकेको छैन।
वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै प्रसाईँले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप छ। स्वयं प्रसाईँले पनि उक्त आन्दोलनमा आफ्नो संलग्नता स्वीकार गरेका छन्।
प्रसाईँ विभिन्न कार्यक्रमका लागि वीरगञ्ज पुगेका बेला पक्राउ परेका हुन्। हाल उनलाई कडा सुरक्षा निगरानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


