काभ्रेपलाञ्चोक ,: काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ। कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगो समेत वितरण गरेको हो।

कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४’ अनुसार मूल्याङ्कन गरेको हो। खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटलहरूको स्तरीकरण गर्ने व्यवस्था छ।

अनुगमन टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसनका अध्यक्ष प्रह्लाद प्याकुरेल, उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके र उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठ लगायतको सहभागिता थियो।

टोलीका अनुसार ९० भन्दा माथि अङ्क प्राप्त गर्नेलाई अति उत्तम (तीन तारे हरियो लोगो), ८०–८९ अङ्क प्राप्त गर्नेलाई उत्तम (दुई तारे हरियो लोगो), ६५–७९ अङ्क प्राप्त गर्नेलाई सन्तोषजनक (एक तारे हरियो लोगो) र ५०–६४ अङ्क प्राप्त गर्नेलाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए।

मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य र पनौतीको थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन्। त्यस्तै, पनौतीको बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन्।

यसअघि कार्यालयले गत फागुन १७ गते व्यवसायीहरूलाई सरसफाइ र मापदण्डबारे अभिमुखीकरण गरेको थियो। चापागाईंका अनुसार जिल्लाभरका होटलहरूको क्रमशः अनुगमन गरिनेछ। स्तरीकरण गरिएका व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ। यदि ६ महिनाभित्र पुन: निरीक्षण गर्दा सुधार नभएको पाइएमा सम्बन्धित होटलको स्तर एक तह घटाइने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय