- सामाजिक अभियन्ता दिल निशानी मगर ले सीमाना सम्बन्धी बहसमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा भारतीय सैनिकहरूको उपस्थितिलाई वास्तविक सीमाना अतिक्रमणको उदाहरणका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार सीमाना क्षेत्रमा हतियारसहित विदेशी सैनिकको तैनाथी नै गम्भीर विषय हो, जबकि सीमावर्ती क्षेत्रमा खेतबारी वा जमिनको सामान्य विवादलाई सोही स्तरको सीमाना मिचाइका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।
उनले केही समूहले पुराना समाचारलाई आधार बनाएर राजनीतिक व्यक्तित्वहरूको समर्थन वा विरोधमा प्रचार गरिरहेको आरोप समेत लगाएका छन्। साथै, विगतमा कान्तिपुरले फेक समाचार प्रकाशन गरेको आरोप लगाउँदै त्यसको विरोध गर्नेहरू नै अहिले कान्तिपुरकै समाचारलाई आधार बनाएर तर्क गरिरहेको टिप्पणी गरेका छन्।
उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् भने सीमाना, राष्ट्रियता र सञ्चारमाध्यमको भूमिकाबारे बहस समेत चर्किएको छ।




