साहित्यकार शैलेन्द्र अधिकारीको नवौं कृति ‘तेजस्’ साउन १६ गते सार्वजनिक हुँदै
काठमाडौं । नेपाली साहित्यकार शैलेन्द्र अधिकारीको बहुप्रतीक्षित नवौं कृति ‘तेजस्’ साउन १६ गते शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक विशेष समारोहबीच सार्वजनिक हुने भएको छ। पुस्तक विमोचन कार्यक्रम दिउँसो २:०० बजे आयोजना गरिनेछ।



इतिहास, संस्कृति, भाषा र समाजका विविध पक्षलाई समेटिएको ‘तेजस्’ पुस्तकमा नेपालका विभिन्न समयमा देशनिकालामा परेका बौद्ध भिक्षुहरूको इतिहास, संघर्ष र योगदानलाई समेटिएको छ। साथै, काठमाडौंको नेवार संस्कृति र नेपाल भाषामाथि राज्यले गरेको विभेद, काठमाडौं सहरको निर्माण प्रक्रिया तथा आफ्नै भूमिमा नेवार समुदाय समयक्रममा कसरी कमजोर बन्दै गयो भन्ने विषयलाई ऐतिहासिक सन्दर्भ र विश्लेषणसहित प्रस्तुत गरिएको छ।
शैलेन्द्र अधिकारी नेपाली साहित्यका स्थापित स्रष्टा हुन्। ‘तेजस्’ उनका प्रकाशित नवौं कृति हो। यसअघि उनका ‘निर्वेद’, ‘ब्राह्मास्त्र’, ‘अर्हत्’, ‘गजल रस’, ‘दिन रोएपछि’, ‘हिउँमाथिको जून’, ‘आऊ स्कुल जाऊँ’ तथा ‘उलार’ उपन्यासको शैलिबैज्ञानिक अध्ययन लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्। साथै, उनका विश्वविद्यालयको पाठ्यक्रममा समावेश चारवटा पुस्तक पनि प्रकाशित छन्, जसले नेपाली साहित्य र अनुसन्धानको क्षेत्रमा उनको योगदानलाई थप उचाइमा पुर्याएको छ।
इतिहास, भाषा, संस्कृति र सामाजिक रूपान्तरणका विषयमा रुचि राख्ने पाठकका लागि ‘तेजस्’ महत्त्वपूर्ण र संग्रहयोग्य कृतिका रूपमा अपेक्षा गरिएको छ।


